Thursday, June 15, 2017

१.२ नेपालको राजनैतिक विभाजनको आधार; महत्व र विशेषता

राजनीतिक विभाजनको परिचय
जनप्रतिनिधि छनोट गर्न प्रशासन सञ्चालन गर्न, देशको शासन व्यवस्था सञ्चालन गर्न, सन्तुलित रूपमा विकास गर्न,  मुलुकको सम्पूर्ण भूभागलाई विभिन्न प्रदेश, प्रान्त, जिल्ला, नगरपालिका तथा गाउँपालिका आदि जस्ता राजनैतिक र प्रशासनिक एकाइमा वर्गिकरण गरिएको हुन्छ जसलाई राजनीतिक विभाजन भनिन्छ । धरातलीय हिसावमा हिमाल, पहाड र तराई गरी तीन भागमा नदिका आधारले कोशी, गण्डकी र कर्णाली प्रदेश गरी तीन भागमा विभाजन गरिएजस्तै राजनीतिक आधारमा हाल ७५ जिल्ला, २४६ वटा नगरपालिका र ४८१ गाउँपालिकामा विभाजन गरिएको छ । नेपालको संविधान २०७२ अनुसार नेपाललाई ७ प्रदेशमा विभाजन गरिएको छ । 
नेपालको राजनीतिक विभाजनलाई विभिन्न समयमा विभिन्न आधारहरू लिएर गर्ने गरेको पाइन्छ । यसको इतिहासलाई हेर्दा,
भिमसेन थापाको पालामा नेपाललाई ३९ जिल्लामा विभाजन गरिएका थियो ।
वीर शमशेरको पालामा पहाडतर्फ २३ जिल्ला र तराई तर्फ १२ हासिल गरी जम्मा ३५ जिल्लामा विभाजन गरिएको थियो।
२०१८ साल वैशाख १ गते तत्कालीन राजा महेन्द्रले १४ अञ्चल  ७५ जिल्लामा विभाजन गरेका ।
२०२९ सालमा तत्कालिन राजा विरेन्द्रवाट नेपाललाई ४ विकास क्षेत्रमा र २०३७ सालमा ५ विकास क्षेत्रमा विभाजन गरिएको थियो ।
२०१६ को आम निर्वाचनमा १०९ क्षेत्रमा विभाजन गरिएको थियो ।
२०४७ सालमा २०५ निर्वाचन क्षेत्रमा विभाजन गरिएको थियो । 
२०६४ सालमा २४० निर्वाचन क्षेत्रमा विभाजन गरिएको थियो ।
 • नेपालको संविधान २०७२ अनुसार नेपाललाई ७ प्रदेशमा विभाजन गरिएको छ ।

राजनीतिक विभाजनको आधार
मुलुकको राजनीतिक विभाजन गर्ने आधारहरू विभिन्न समयमा फरक फरक भएको पाइन्छ । विभिन्न समयमा हुने गरेको राजनीतिक विभाजनको आधार र वर्तमानमा गरिएको राजनीतिक विभाजनका आधारलाई समग्रमा निम्न अनुसार प्रस्तुत गर्न सकिन्छ :
१) भौगोलिक अवस्था
विकट भौगोलिक अवस्था र सुगमता (यातायातको पहुँच) नदीले भूगोललाई छुट्टयाएको अवस्था जस्ता आधारमा विभाजन गरिएका छन् ।
२) जनसंख्या
जनसंख्याको घनत्व, जनसंख्याको संरचना जस्ता आधार लिइ विभाजन गरिएको छ ।
३) क्षेत्रफल 
कुनै क्षेत्रले समेट्ने क्षेत्रफलको आधारमा पनि विभाजन गरिएको छ ।
४) राजनीतिक पद्धती 
देशले अवलम्वन गरेको राजनीतिक पद्धतीका आधारलाई पनि राजनीतिक विभाजनको आधार बनाइएको । 
५) सरकारको स्वरूप
सरकारको संघीय प्रान्तीय तथा स्थानीय स्वरूपलाई पनि राजनीतिक विभाजनको आधार वनाइन्छ ।
६) भू राजनीतिक अवस्था
देशको सीमानाको आधारमा पनि राजनीतिक विभाजन गरिन्छ ।
७) शान्ति सुरक्षाको संवेदनशीलता
शान्ति सुरक्षाको वर्तमान अवस्था र विभाजन पछि हुने अवस्थालाई पनि मध्यनजर गरी राजनीतिक विभाजन गर्ने गरिन्छ ।
८) सन्तुलित विकास गर्नुपर्ने दायित्व 
मुलुकको सवै क्षेत्रमा भएका पूर्वाधारहरूको आधारमा पनि राजनीतिक विभाजन गरिन्छ ।
९) आर्थिक स्रोत साधन :
सम्बन्धित क्षेत्रको आम्दानी गर्ने क्षमतालाई पनि राजनीतिक विभाजन गर्ने आधारको रूपमा लिइन्छ । 

राजनीतिक विभाजनको महत्व
केन्द्रदेखि स्थानीय तहसम्म समानरूपमा सार्वजनिक प्रशासन सञ्चालन गर्न
सार्वजनिक सेवा प्रवाहलाई छिटो छरिटो, प्रभावकारी वनाई सेवा प्रति सबैको समान रूपमा पहुँच स्थापित गर्न
मुलुकको सन्तुलित विकास गर्न,  
आन्तरिक शान्ति सुरक्षाको व्यवस्थालाई मजबुत गर्न,  
राष्ट्रिय एकताको सुदृढीकरण गर्न
मुलुकमा क्षेत्रीय रूपमा रहेको असन्तुलनलाई हटाउन,  
विकेन्द्रीत शासन व्यवस्थालाई प्रवर्धन गर्न
विकासमा स्थानीयस्तरदेखि राष्ट्रियस्तरसम्म जनसहभागिता अभिवृद्धि गर्न
राष्ट्रिय उपलब्धिको मुलुकभरी न्यायोचित वितरण गर्न,  
जनप्रतिनिधिको छनौट गर्ने आधार प्रदान गरी प्रजातान्त्रिक मूल्य मान्यता अवलम्वन गर्न
मुलुकी शासन सञ्चालन गर्ने आधार प्रदान गर्न

नेपालको राजनैतिक विभाजनका विशेषताहरू
२०७२ को संविधान अनुसार विभिन्न सात प्रदेशमा विभाजन ।  
७५ जिल्ला ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २४६ नगरपालिका र ४८१ गाउँपालिकामा विभाजन गरिएको ।
स्थानीय नदी खोलानाला, नहर, पहाड, राजमार्ग आदिलाई सीमानाको रूपमा लिइएको छ । 
विकास क्षेत्रलाई दिशा र अवस्थितिका आधारमा अञ्चललाई नदी, हिमाल, प्रतिष्ठित मठमन्दिरका आधारमा र जिल्ला तथा गा.वि.स. लाई स्थानीय भाषा, जाति विशेष, संस्कृति, खोला नाला, प्रतिष्ठित विषय जस्ता कुराहरूको आधारमा नामाकरण गरिएको छ । 
विभाजन गर्दा भौगोलिक अवस्था, जनसंख्याको अवस्था, भौतिक पूर्वाधारको व्यवस्था, समेट्ने क्षेत्रफल, जस्ता कुरालाई आधार लिइएको छ । 
राजनीतिक विभाजन गर्ने अन्तर्राष्ट्रिय प्रचलनलाई आत्मसात गरिएको छ ।


1 comment:

  1. जिल्ला त ७६ वोटा हैनर ?

    ReplyDelete